Sunday, August 19, 2018

आफ्नो युवा अवस्थामा आफ्नो सृष्टिकर्ताको सम्झना गर ।

युवा सेवकाई र यसका चुनौतीहरू
“आफ्नो युवा अवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर
                                  उपदेशक १२:
(१) सेवकाईको परिचय
      सेवकाई शब्द ग्रीक भाषाको''diakonos''बाट उत्पन्न भएको हो, जसको अर्थ हुन्छ,"To Serve"अर्थात “सेवा गर्नु”“किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ती आफ्नो प्राण दिन आएको हो । मर्कुस १०:४५हामी ख्रीष्टियनहरुको जीवन सेवकाईको जिवन हुनुपर्छ । येशु ख्रीष्ट आफै पनि संसारमा आउनु हुँदा सेवकाईमा आफ्नो जिवन बिताउनु भयो । आफ्ना चेलाहरुलाई पनि आफुले गरे झै अरुलाई गर्न सिकाउनु भयो ।“किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ती गरें, तिमीहरूले पनि त्यसै गर । युहन्ना १३:१५   यसरी येशु ख्रीष्ट आफैले अरुको सेवा गरेर सेवकाईको सुरुवात गर्नु भयो । जो कोही पनि खाँचोमा परेकाहरुलाई उसको आवश्यकता अनुसार आफ्नो क्षमताले भ्याएसम्म उसलाई सहयोग गर्ने काममा आफ्नो हात अघि बढाउनु नै सेवा गर्नु हो । भौतिक कुराहरु दिएर, आर्थिक सहयोग गरेर, उसका कामहरुमा सहायता गरेर हामी सेवाको काम गर्न सक्छौ ।
“तिमीहरुमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो । फिलिप्पी २:५ त्यसैले ख्रीष्टलाई पछ्याउनेहरुसँग पनि ख्रीष्टको जस्तै सेवा गर्ने मन हुनुपर्छ ।

(२) सेवकाईका प्रकार
      मण्डली सेवाका थुप्रै क्षेत्रहरु छन् । वचन प्रचार, चेलापन, रेखदेख, दिने, चङ्गाई, बालबालिका, जवानलाई प्रभुमा हुर्काउने, सु–समाचार प्रचार, सरसफाई, सामाजिक सेवा, सहकार्य आदि । मण्डली भित्र हुने सेवकाईका क्षेत्रहरुमा जिम्मेवार व्यक्तिहरुले आफ्नो वरदान र क्षमता अनुसार काम गरिरहेका हुन्छन् । कोहिले बालबच्चालाई हेर्ने काम गरिरहेका हुन्छन् , कोहिले गित संगितद्वारा सेवा पुर्याईरहेका हुन्छन्, कोहीले वचनको सेवकाई गरिरहेका हुन्छन् भने कोहिले भेटिहरु दिने, प्रार्थना र उत्साह दिने, सहयोग गर्ने वरदानद्वारा सेवकाई गरिरहेका हुन्छन् । कोहि आगाडि आएर देख्ने गरि सेवकाई गरिरहेका हुन्छन् । सबै काममा जिम्मेवारी लिएका व्यक्तिले इमान्दार पूर्वक मण्डलीमा परमेश्वरको सेवाको काम गरिरहेको हुन्छन् । यी सबै सेवकाईमा एकले अर्कालाई उत्साह दिने, सहायता गर्ने, प्रार्थना गर्ने कामहरु हुँदछ । मण्डलीमा हरेक मानिसलाई दिइएको वरदान अनुसार विभिन्न सेवकाईमा रहेर उनीहरुले परमेश्वरको सेवाको काम गरिरहेका हुन्छन् ।जसले जस्तो वरदान पाएको छ, परमेश्वरका अनुग्रहका विभिन्न वरदान पाएका भण्डारेझैँ ती एक–अर्काको निम्ति प्रयोग गर । रोमी ११:२९।”यसकारण आफुसँग भएका बरदानप्रति घमण्ड गर्ने होइन तर त्यसलाई परमेश्वरको सेवाको काममा प्रयोग गर्नुपर्छ । यी सबै सेवाको काम मध्य यहाँ हामी विशेष युवा सेवकाई र यसका चुनौतीका विषयमा चर्चा गर्नेछौ ।

(३) युवा सेवकाई
      युवा सेवकाईमा प्रवेश गर्नु भन्दा अघि युवाको वारेमा चर्चा गरौ । सामान्य अर्थमा व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचान अनुरूप बाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ । विश्वको जनसंख्याको तथ्याङ्कलाई हेर्ने हो भने कुल जनसंख्याको एक चौथाई भन्दा बढी भाग युवाहरूले ओगटेको पाउँदछौं । संयुक्त राष्ट्रसंघले १९ वर्षदेखि २५ वर्षसम्मकालाई मात्र युवा मान्दछ तर नेपालमा भने १८ वर्षदेखि लगभग ४० वर्षसम्मकालाई युवा मान्ने चलन छ । यही तथ्याङ्कलाई नै आधार मानेर हेर्ने हो भने विश्वको जनसंख्याको आधाभन्दा बढी जनसंख्या २५ वर्ष मुनिकाहरूको छ । प्रत्येक वर्ष लगभग ३ करोड मानिसहरू युवा उमेरमा प्रवेश गर्ने गर्दछन् । नेपालको सन्दर्भमा हेर्ने हो भने पनि झण्डै एक तिहाइ जनसंख्या युवा उमेरका नवजवानहरूले भरिएको पाउन सकिन्छ ।
युवा त्यो उमेर समूह हो, जसमा राष्ट्रको भविष्यका कर्णाधार वर्तमानका साझेदार तथा विकास र परिवर्तनका संवाहकको सामर्थ्य रहेको हुन्छ । युवा जसलाई देशकै मेरुदण्दको रुपमा पनि लिइन्छ । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक रूपान्तरणमा युवा वर्गको भूमिका महत्वपूर्ण रहेको छ । युवा शक्ति विकासका लागि आवश्यक ऊर्जाका स्रोत हुन् ।
यी नै युवाहरु मण्डलीका लागि पनि उत्तिकै आवश्यक र महत्वपुर्ण स्रोत हुन् ।ख्रीष्टियनजीवनको महत्वपुर्ण सेवकाईको क्षेत्र मध्य युवा सेवकाईहो । जुन प्रत्यक्ष रुपमा मण्डलीमा रहेका युवाहरुसँग सरोकार राख्ने गर्दछ । मण्डलीका युवाहरुलाई एकत्रित गरि आत्मिक क्षेत्रमा अघि बढाउन एकले अर्कालाई प्रेरित गर्नु यसको काम हो । युवाहरुद्वारा नै युवाहरुका लागि गरिने सेवकाई युवा सेवकाइ हो ।
युवामा भएको जोश जाँगरलाई मण्डलीको सेवकाईमा भरपुर रुपमा प्रयोग गर्न सक्नुपर्छ नत्र भने त्यो जोश र जाँगर अन्य काममा नै प्रयोग हुन सक्छ । मण्डलीका भएका विभिन्न उमेर समुहका युवाहरुलाई समय सापेक्ष अनुसार उनीहरुको आत्मिकी बृद्दिका लागि युवा सेवकाईमहत्वपुर्ण आधार हो। प्रायः मण्डलीका पाष्टर अगुवाजनहरुसँग आफ्ना कुराहरु राख्न, बोल्नदेखी युवाहरु अप्ठेरो मान्ने, डराउने हुन्छन् ।अधिकाँश मण्डलीका पाष्टर अगुवाहरु अलि पाको उमेरका हुन्छन्, उहाँहरु जुन वातावरणमा हुर्कनुभयो, त्यही वातावरणमा अहिलेका मण्डलीका युवाहरुलाई हुर्काउने प्रयास भईरहेको हुन्छ । जहाँ अहिलेका युवाहरु हुर्कनअसहज हुँदछ । समय परिस्थिती अनुसार उपलब्ध स्रोत र साधन प्रयोग गरी उनीहरुलाई सिकाउनु पर्ने हुन्छ । यदि उनीहरुको इच्छा विपरित पुरानै सोच अनुरुप सिकाउन थालियो भने युवाहरु विस्तारै मण्डली नआउने, अरु मण्डली धाउने गर्दै गर्दा विश्वासबाट समेत पछि हट्ने हुन्छ 
भोलि मण्डली चलाउने भनेको यी नै युवाहरुले नै हो । तसर्थ युवाहरुलाई मण्डलीको सेवाकाईमा लाग्न प्रेरित गर्नुपर्छ । मण्डलीको काम प्रति उनीहरुलाई जिम्मेवार बनाउनु पर्छ । सेवकाईमा आउने वातावरणको सृजना गरिनु पर्दछ । हुनत सेवकाईको काम सजिलो भने पक्कै छैन, धेरै बाधा समस्याहरु आउँछन्, ती कुराहरुसँग कसरी सामना गर्ने, यसका चुनौतीको विषय र सेवकाई पश्चात परमेश्वरबाट पाईने इनामबारे समेत ती युवाहरुलाई बुझाउनु जरुरी छ ।
युवाहरुका वारेमा वचनले भन्दछ, जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरुका अगि बोलीवचन, आचारण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन ।” (१ तिमोथी ४:१२) ।
युवा सेवाकाईलाई नेतृत्व गर्ने जिम्मेवारी युवा अगुवाको हो । तसर्थ हरेक युवासँग उसको प्रभावकारी सम्वन्ध हुनु अत्यन्त जरुरी हुन्छ । जब सबै युवासँगको आत्मियता बढ्दै जान्छ, युवा सेवकाईलाई प्रभावकारी तवरले अघि बढाउन सहायता मिल्छ । युवा अगुवा आफै पनि अरु युवाहरुको लागि उदाहरण बनिनुपर्छ । मण्डलीलाई जिवन्त बनाउन र सधैं मण्डलीलाई उदाहरणीय बनाउने बढी जिम्मेवारी युवाहरुमा हुन्छ र यसको निम्ति युवा अगुवा र युवा सेवकाई प्रभावकारी हुन नितान्त आवश्यक छ । युवा सेवकाइलाई कसरी प्रभावकारी बनाउने ? यो जिम्मेवारी युवा अगुवामा नै हुन्छ ।

(४) युवा सेवकाईको महत्व
      मण्डलीमा विभिन्न उमेर समुहका मानिसहरु हुन्छन् । उनीहरुको उमेर अनुसारको वचनको तयारी गर्नु पर्ने हुन्छ । त्यसैले मण्डलीमा बाल संगती, आरधना संगती, दिदी बहिनी संगती, घरेलु संगती र जवान संगती हुने गर्दछ । सबै संगतीहरुमा लक्षित वर्गलाई हुने खालको गतिवितिहरु संचालन गर्दै आफ्नो सेवाकाईको क्षेत्रलाई अघि बढाइरहेको हुन्छ । सबै संगतीको महत्व उत्तिकै छ, तर हामी यसमा युवा सेवकाईको महत्वबारे हेर्नेछौ ।
युवाका कुरा बुझ्ने भनेको युवा नै हो । मण्डलीका पाष्टर अगुवाहरु सबैसँग घुलमिल हुनु पर्ने हुन्छ । सबै विश्वासीलाई प्रशस्त मात्रामा समय दिन सकिदैन । त्यसैले बाल संगतीका नानीहरुलाई ख्रिष्टमा दो¥याउन बाल संगतीका शिक्षक शिक्षिकाहरु रहेका हुन्छन् , आमा दिदी बहिनीलाई दो¥याउने दिदी बहिनी संगतीका अगुवा हुन्छन् र युवालाई दो¥याउन युवा संगतीका अगुवा हुन्छन् । हुनत मण्डलीमा सबै काम अगुवाले मात्र गर्नुपर्छ, सेवकाईमा लाग्ने व्यक्तिले मात्र गर्नुपर्छ भन्ने गलत मानसिकताको विकास भइरहेको छ । तर यसमा मण्डलीका सबै विश्वासीकको भुमीका उत्तिकै महत्वपुर्ण छ ।अलि बढी जिम्मेवार भने अगुवाहरु हुनुपर्छ । आफ्ना विश्वासीहरुको अवस्था कस्तो छ, कसले के गर्दैछ, कुन बाटो हिड्दैछ, जिवनशैली कस्तो छ यी सबै कुरा नजिकबाट नियाल्नु ती अगुवाको दायित्व हो ।
युवा सेवकाई विशेषतः युवासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले आफ्नो उमेर समुहका मानिसहरुसँग घुलमिल हुन्छ, जसले गर्दा युवालाई आफ्ना समस्या राख्न, आफ्ना अवस्था बारे कुरा गर्न सहज वातारणको निर्माण हुने भएकाले युवा सेवकाई मण्डलीका युवाहरुको निमित्त एकदम महत्व छ ।
युवा अवस्था मानिसको एउटा अति विशेष अवस्था हो । जतिवेला गरिएका निर्णयको आधारमा उसले बाँकी भविष्य बिताउँछ । यदि युवाले ठिक शिक्षा नपाएमा र ठिक मार्गदर्शन नभएमालागु पदार्थको दुर्बेसनीमा फस्ने, यौन दुराचारमा लाग्ने, गलत बाटोतिर लाग्ने जस्ता समस्या आउने भएकाले युवाहरुलाई मार्गदर्शनको आवस्यकता पर्दछ । हाम्रो मण्डलीमा आउने र मण्डलीमा नआउने दुबै पक्षका युवाहरुलाई प्रभुमा डो¥याउनको लागि युवा सेवकाई महत्वपुर्ण छ ।

(५) युवा सेवकाईका फाईदा
      युवा सेवकाई मुलतः युवासँग सरोकार राख्ने विषय भएकाले सजिलै युवाहरु एक अर्कामा घुलमिल हुन सक्दछन् । जसले गर्दा आफ्ना कुराहरु एक अर्कामा बाँडचुड गर्ने अनुकुल वातावरणको सृजना हुदँछ । युवा सेवाकाईमा लाग्ने व्यक्ति या अगुवा आफै पनि युवा नै हुने भएकाले युवाहरुका समस्या, उनीहरुको इच्छा, चाहना, बारे ऊ जानकार हुन्छ र ती कुरालाई कसरी सामना गर्ने भन्ने वारे उचित कदम चाल्न उसलाई सजिलो हुन्छ । साथै आउन सक्ने खतरा, जोखिम परिस्थिति बारे समेत ऊ सजग भएर आफ्ना कदमहरु चाल्न उसलाई सहज हुन्छ । त्यसैले युवाहरुले युवा सेवकाईको भरपुर फाईदा लिन सक्दछन् ।
युवाहरुलाई सहि समयमा सहि कुरा सिकाएमा भोलिको मण्डलीमा समस्या आउने कम सम्भावना हुन्छ । युवा सेवकाईले सेवकाई गर्ने युवाहरु र अन्य युवाहरु प्रतिको सम्बन्धलाई स्थापित गर्ने काम गर्छ । त्यस्तै युवाहरुलाई लक्ष्य प्राप्ति प्रति अग्रसर गराउँछ । युवाहरुलाई परिश्रम गर्ने, सृजनशिल बनाउने काम पनि युवा सेवकाईका फाइदा हुन्छन् । त्यस्तै यौन दुराचारबाट बचाउने, र्दुव्यसनीबाट बचाउने, सामाजिक काममा अग्रसर गराउने, सेवकाई प्रति चासो जागाउने काम युवा सेवकाईले गर्छ ।

(६) बाइबलमा केही नमुनामय युवाहरू
      बाइबलमा हेर्ने हो भने परमेश्वरले आफ्नो राज्यको निम्ति र देश र जनताको निम्ति पनि युवाहरुलाई चलाउनु भएको छ । बाइबलमा यस्ता युवाहरु छन् । जसले असल प्रकारले परमेश्वर र मानिसहरुको सेवा गरेका छन् । अगुवाई गर्ने काम गरेका छन् ।
१. यहोशु
      यहोशु मोशाका जवान सहायक हुन् । उनले मोशाको अधिनमा रहेर अगुवाई गरे र मोशा पछि इस्राएलिहरुलाई अगुवाई गर्ने काम गरे ।
२. योसेफ
      योसेफ १७ वर्षको हुँदा नै उनले भविष्यमा हुने सपना देखें र मिश्रमा जानको निम्ति सतावट, दासत्वद्वारा तयार भए । योसेफ परमेश्वरको भयमा रहेर असल तरिकाले देशलाई नेतृत्व गर्ने, व्यवस्थापन गर्ने जवान मानिस हुन् ।
३. एलिहु
      उनले अयुबले आफैँलाई धर्मि तुल्याएकोमा र अरु साथिहरुले दोष लागाएको कुरामा विरोध जनाए र परमेश्वरलाई उच्च स्थान दिए । उनी पनि जवान नै थिए ।
४. दानिएल
      दानिएल जो राजाको सामु सेवा गर्थे र परमेश्वरको डर भयमा रहन्थें । जसले नाम, दाम, बिलासिताको लागि सम्झौता गरेनन् । उनी पनि जवान नै थिए ।
५. दाउद
      जब दाउद राजाको निम्ति अभिषेक गरिए उनी भर्खरका जवान थिए । ( १ शमुएल १६ः१२)
६. तिमोथी
      उनी पावलका सहयोगी, एफिससका पाष्टर र शिक्षक उनी पनि जवान नै थिए ।

(७) अन्र्तवार्ता
      युवा सेवकाईलाई अझ नजिकबाट बुझ्न यसै सेवकाईमा लाग्नु भएका व्यक्तित्वको जिवनीबाट नियाल्ने प्रयास गरेको छु । वि.सं २०४७ आश्विन १९ मा बुबा श्री नारायण प्रसाद प्रधान र आमा श्री बन्धना प्रधानबाट बनेपामा जन्मनु भई, विगत ९ वर्षदेखी रोफेका नवजीवन मण्डली बनेपामा युवा सेवकाई गर्दै आउनुभएका श्री प्रशान्त प्रधानसँग युवा सेवकाई र यसको चुनौतीको वारेमा गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरेको छु ।
१. कति समय भयो युवा सेवकाईमा लाग्नुभएको ?
     अनौपचारीक रुपमा सन् २००७ साल देखी सुरुवाट गरे भने औपचारिक रुपमा सन् २००९ देखी अहिले निरन्तर युवा सेवकाईमा लागीपरेको छु ।
२. कसरी सुरुवात गर्नुभयो युवा सेवकाई ?
     मैले विशेष गरि युवा सेवकाई सुरु गरेको क्वायरबाट नै हो । त्यतिवेला म क्वयरमा गीतार बजाउने, गीत सिकाउने गर्थे । पछि चर्चको अगुवाहरुले जवान संगतीको पनि जिम्मेवारी दिनुभयो जहाँ धेरै कुरा सिक्ने मौका पाएँ । वचनबाट पनि क्वयर कस्तो हुनुपर्छ भन्ने सिकाउन थालें । त्यसरी मैले युवा सेवाकाईको सुरुवात गरे
३. के कुराले युवा सेवकाईमा लाग्न प्रेरित गर्यो ?
     मैले मेरो जिवन लगाएत अरु युवाहरुको विचमा परमेश्वरको वचनको भय देखिन, म आफै एउटा र्दुघटना परी धेरै समय खाटमा नचली बस्नु पर्ने भयो, त्यो समय म जस्तै कयौँ युवाहरु प्रभुको वचन नसुनि त्यसको विरुद्ध काम गरिरहेकाहरुका विचमा सेवकाई गर्नु पर्छ भन्ने बोझ प्रभुले मेरो ह्रदयमा राखीदिनुभयो र त्यस कुराले मलाई युवा सेवकाईमा लाग्न प्रेरित ग¥यो ।
४. घरपरिवार, मण्डली परिवारबाट के कस्तो सहायता पाइरहनुभएको छ ?
     मैले सबैभन्दा बढि सहायता, उत्साह पाएको नै आफ्नो घर, परिवारबाट नै हो । मेरो आमा बुबाले मलाई उत्साह नदिनुभएको भए, प्रार्थना नगरिदिनु भएको भएँ, मेरो लागी प्रभुमा रुनु कराउनु नभएको भए आज म यो ठाउँमा हुँदिन थिए, अरु कुनै गलत ठाउँमा हुन्थेँ होला त्यसैले घर परिवारबाट भरपूर सहायता पाइरहेको छु ।
५. कसरी युवा सेवकाई अघि बढाईरहनु भएको छ ?
     एउटा मुख्य कुरा के छ भने, हामीले हप्तामा एक चोटी युवाहरुलाई भेटेर सिकायो भने उनीहरुले कहिले सुन्दैनन् । हप्ताभरी ती युवाहरुलाई अरु नै संसारिक कुराहरुले प्रभाव पारिरहेको हुन्छ । त्यसैले युवा सेवाकाई गर्ने मान्छे हप्ता भरी वा जुनसुकै समय युवाहरुसँग नजिक हुनुपर्छ । मेरो युवा सेवकाईमा १० जनाको सानो सानो समुह छ हामी ६ देखी ७ जना त्यसमा अगुवा छौ, ती अगुवाहरुले हप्तामा एक वा दुई पटक ती युवाहरुसँग भेटघाट गरी उनीहरुसँग समय विताउने, उत्साह दिने, प्रार्थना गर्ने यसरी हाम्रो युवा सेवकाई अघि बढिरहेको छ । कसरी हुन्छ उनीहरुलाई प्रभाव पार्ने तरिकाहरुको खोजि गर्ने प्रयासहरु भइरहेका छन् ।

६. सेवकाई गर्दै गर्दा मण्डलीमा जवानहरुको अवस्था के कस्तो पाइरहनु भएको छ ?
     अहिलेका जवानहरुमा प्रभुकोवचनले भन्दा नि संसारका कुराहरुले उनीहरुलाई बढी प्रभाव पारिरहेकोछ ।उनीहरु परमेश्वरको वचन सुन्न, मण्डलीको जिम्मेवारी लिन, मण्डलीको काममा, संगतीमा बस्न मन नपराएको अवस्था छ ।उनीहरुको अवस्था हेरेर एउटा साथीको रुपमा प्रेम पुर्वकउनीहरुलाई सिकाउनु पर्ने, व्यवहार गर्नुपर्ने हाम्रो टिमले महसुस गरेको छ ।

७. वर्तमान अवस्थामा मण्डलीमा जवानहरु सक्रिय हुन नसक्नुको कारण के होला जस्तो लाग्छ ?
     मलाई धेरै जनाले सोधेको प्रश्न मध्येको एक प्रश्न हो यो, हाम्रो जिवनमा मौसमहरु आउँदछ जो मौसम सधै हरियाली हुदैन, सधै सुख्खा पनि हुदैन, सधै पानी पर्ने पनि हुदैन, सधै चिसो पनि हुदैन । त्यसै गरी परमेश्वरले पनि हाम्रो जिवनमा, सेवकाईमा मौसमहरु आउन दिनुहुन्छ जस्तो लाग्छ । धेरै पल्ट सुख्खापन नै आएन भने कसरी परमेश्वरको काम हरियालि देख्ने मौका पाउने।जवानहरु निस्क्रिय भएको, अगाडी बढ्न नसकेको धेरै जनाले भनेको सुनेको छु । यो संसारका भौतिक कुराहरुले पारेको प्रभाव पनि हो र परमेश्वरले नै यो हुन दिनुभएको हो जस्तो पनि लाग्छ किनकी यो भएन भने हामी बढ्ने मौका पाउँछौ जस्तो लाग्दैन ।जवानहरु सक्रिय हुन नसकिरहेको प्रति दुःख त छ नै तर पनि परमेश्वरले आफ्नो समयमा ठिक तरिकाले काम गर्नुहुन्छ जस्तो लाग्छ ।

८. उनीहरुलाई सक्रिय बनाउन मण्डलीले के–कस्तो कदम चाल्नुपर्ला ?
     उनीहरुलाई सक्रिय बनाउन हामी केही गर्नै सक्दैनौ, यो हाम्रो वशको कुरै होइन, यो चाँही परमेश्वरले नै गर्नुहुने काम हो तर त्यसमा हाम्रो जिम्मेवारी भनेको उनीहरुलाई संसारको कुराले भन्दा परमेश्वरको वचनले प्रभाव पार्न जोड दिनुपर्छ । हप्तामा एक चोटी भेटेर उनीहरुलाई उत्साह दिएर हुदैन जस्तो लाग्छ, मिहेनतको काम हो तर हरेक दिन डो¥याउने काम गर्नु पर्छ । 

९. युवा सेवकाईको चुनौतिहरु के के छन्?
     मुख्य चुनौती भनेको संसारको भौतिकी पना हो किनकी अहिलेको संसारले हामीलाई के सिकाउँछ भन्दा जे पनि छुने हुनुपर्छ, जे पनि अनुभव गर्नुपर्ने हुनुपर्छ भनेर सिकाउँदछ । तर आत्मिकी कुरा जुन चाँही हामी छुन सक्दैनौ, जुन देख्न सक्दैनौ यो कुरा चाँही संसारमा हुदैन भने खालको भौतिक वादको कुरा आइरहेको छ । हामीले जहिले याद गर्नुपर्ने कुरा के छ भन्दा हाम्रा जवानहरुलाई आत्मीकी क्षेत्र के हो, आत्मीकी वातावरण के हो, आत्मीकी क्षेत्रमा के–के हुन्छ बाइबलमा आधारित रहेर घरीघरी उनीहरुलाई सिकाइरहनु पर्छ । अर्को सबै भन्दा ठुलो चुनौती हाम्रो व्यस्तता हो । हप्ता दिन भरी संसारका कुराहरुले प्रभाव पारिरहेको अवस्थामा हप्ताको एक दिन शनिवार मात्र उनीहरुलाई प्रभाव पार्न खोज्नु ठुलो चुनौती छ ।

१०. जो जति युवा सेवकाईमा लागिरहनुभएको छ, उहाँहरुलाई के भन्न चाहनुहुन्छ ?
     मैले अनुभव गरेको कुरा भनेको, हाम्रो बलले हामी केही गर्न सक्दैनौ । परमेश्वरको योजना अनुसार चल्न सिक्नुपर्ने रहेछ । अघि मौसमको कुरा गरे जस्तै सधै भरी एकै नाशको मौसम हुदैन जुनसुकै मौसममा परमेशवर हामीसँग हुनुहुन्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । युवा सेवकाई एकदम चुनौतीपुर्ण छ, धेरै पटक हामी परिणाम देख्दैनौ, जवानहरु बृद्धि नभएको, भएका जवानहरु पनि जागृत नभएको देख्दछौ ।यसैले धेरैपल्ट हाम्रो मनमा शैतानले खिन्नता, असफल भएको जस्तोल्याइदिन्छ । तर हामी निरन्तर लागिरह्यौ भने परमेश्वरले सफलता दिनुहुन्छ, परिणाम दिनुहुन्छ । यो हाम्रो राज्यको लागि नभई परमेश्वरको राज्यको लागि गरिने काम भएकोले सायद हामी भन्दा बढी परमेश्वर यस कुरामा दुःखीत हुनुहुन्छ होला, उहाँले नै सबै कुरा जुटाइदिनुहुन्छ ।

११. मण्डलीका जवानहरुलाई के भन्न चाहनु हुन्छ ?
     संगत जवानहरुको लागि एकदम महत्वपुर्ण छ, त्यसकारण हामीले अरुबेला कोसँग संगत गरिरहेका छौ त्यसमा ध्यान दिनु अति जरुरी छ । सबैभन्दा महत्वपुर्ण कुरा के छ भने, परमेश्वरसँग सम्वन्ध छैन भने हरेक दिन उहाँसँग आरधना गर्ने कुरा छैन भने, वचन पढ्ने कुरा छैन भने त्यो सबैभन्दा डरलाग्दो कुरा छ । आउने दिनमा जवानहरु मण्डलीमा भए तापनि त्यो मन तातो जवानहरु झैँ हुन्छ । यदि हाम्रो जिवनको जग चाँही परमेश्वरको वचनमा बलियोसँग बसाइएको छ भने मलाई लाग्छ मण्डलीको जवान जस्तो बलियो खाबोँ अरु केही हुदैँन ।

(८) युवा सेवकाईका चुनौतीहरुः  
      सेवाकाई आफैमा एउटा चुनौतीको विषय हो । सेवकाईमा लाग्दै गर्दा धेरै कुरा गुमाउनु पर्ने अवस्था आउँछ । त्यो समयमा आफु विचलित नभई जुन कामको लागि आफ्ना पाईलाहरु अघि बढाईएका छन् त्यसमा आफु टटस्थ रहनसक्नु पर्छ । सेवकाईमा लाग्ने व्यक्ति अरुको लागि उदाहरण हो । जसको जिवनलाई हेरेर अरु आशिषित हुने जिवनको सृजना गर्नुपर्छ न की अरुलाई निराश तुल्याउने । सेवकाईमा लाग्दै गर्दा आफ्ना बोलि बचन, व्यवहार, काम हरेक कुरामा संयमता अपनाउनु पर्ने हुन्छ, धैर्यवान् हुनुपर्छ । निराश ल्याउने कुराको प्रवाह नगरी ती कुरामाथि जब विजयी भइन्छ, आफुसँगै अरुको लागि पनि एउटा आशिषको कुरा बन्न सक्छ । त्यसैले सेवकाईमा लाग्दै गर्दा धेरै अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । हरेक सहज असहज परिस्थिमा आफु त्यसबाट विचलित नभई आफ्नो सेवकाईको क्षेत्रलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनु ठुलो चुनौतीको कुरा छ ।
अझ युवा सेवकाई झन् ठुलो चुनौतीको विषय छ । अब हामी युवा सेवकाईका चुनौतीलाई बुदाँगत रुपमा हेर्नेछौ :
१) युवा सेवकाईमा आउन चाहने युवाको नै कमी हुनु
      आजभोलिका युवाहरु सेवकाईमा आउन चाहने अत्यन्तै कम नै छन् । हरेकलाई आफ्नो पढाईसँगै, भविष्य उज्वल बनाउने काममै उनीहरु व्यस्त छन् । कोही उच्च शिक्षा हासिल गर्न त कोही धेरै पैसा कमाउने सोचले अधिंकाँश युवाहरु शहर केन्द्रित भइरहेका छन् त कोही युवाहरु विदेशीएका छन् । जसबाट मण्डलीका युवाहरु पनि अछुतो रहन सकेको छैन । यो आफैमा नराम्रो भन्न खोजिएको होइन, आफ्नो भविष्यको फिक्री हर व्यक्तिलाई हुँदछ । बिलासी जिवन विताउन जो कोही पनि चाहन्छ । कोही पनि आफ्नो जीवन अभावमा विताउन चाहँदैन तर समयले युवाहरुलाई यस्तो व्यस्त बनाईदियो की शनिवार २ घण्टा आरधनाको समय पनि मण्डली आउन उनीहरुलाई व्यस्त बनाईरहेकोअवस्था छ । आइहाले पनि संगती सकिने बित्तिकै जयमसिह नै भन्न नपाई, भेटघाट गर्न नपाई त्यहाँबाट गइसकेको हुन्छ । यस्तो अवस्थामा झन् सेवाकाईमा आउन चाहने युवाको त कुरै भएन । त्यसैले युवा सेवकाईमा आउन चाहने युवाको नै कमी हुनु नै ठुलो चुनौतीको विषय छ ।

२) असल अगुवाको छनौट गर्न नसक्नु
युवा सेवकाईको मुख्य व्यक्ति युवा संगतीको अगुवा हो । यदि असल अगुवा छनौट गर्न सकिएन भने युवा सेवकाई प्रभावकारी रुपमा अघि बढ्न सक्दैन । त्यसको असर मण्डलीका अरु युवाहरुमा पनि पर्दछ । अधिकाँश मण्डलीमा पाष्टर अगुवाका छोराछोरीहरु नै युवा संगतीको अगुवाको रुपमा रहेका हुन्छन् । यो राम्रो कुरा हो आफ्नो बाबुआमा मण्डलीको जिम्मेवारी पदमा बसेर काम गर्दा उसका सन्तानले पनि युवा संगतीको नेतृत्व लिनु । उसमा नेतृत्व गर्ने क्षमता छ, उसलाई मन पर्छ भने यो राम्रो भयो तर बाबु आमा नै अगुवा पाष्टर भएको कारणले उसको छोराछोरी नै युवा संगतीको नेतृत्व लिन पाउनु पर्छ भन्ने धारणा भने गलत छ । मण्डलीले लामो समयदेखी सेवकाई गरेको, बढी आत्मिकी देखिने यस्ता व्यक्तिलाई सेवकाईको जिम्मेवारी दिन्छ । मण्डलीले युवा सेवकाईमा जिम्मेवारी लिनको लागि युवा प्रति बोध भएको, दर्शन र क्षमता भएको अगुवालाई छनौट गर्न नसक्नु पनि चुनौतिको विषय हो ।

३) युवाहरुको चासोका विषयलाई स्थान दिन नसक्नु
युवा संगतीको अगुवाले आफुलाई मात्रै उचित लाग्ने गतिविधीहरु ल्याएर युवा सेवकाई प्रभावकारी हुन सक्दैन । कति पटक उनीहरुले राखेका कुराहरुलाई सिधै नर्कादा, बेवास्ता गरिदा मण्डलीको प्रतिको उसको सोच नकरात्मक पर्न जान्छ । केवल बाइबलमा मात्र आधारित भएर आत्मिकी शिक्षा दिने तर व्यवहारिक कुराहरु यौन, विज्ञान प्रविधी, खेलकुद, मनोरञ्जन जस्ता कुरालाई बाइबलिय तवरले नसिकाउनु, बाहिरी कुरामा संलग्न हुन नदिनुले युवा सेवकाईका चुनौती थपिएको छ ।
४) सेवकाईको स्वरुप परिवर्तन हुन नसक्नु
युवाहरु स्वभावैले या उमेरले नयाँ नयाँ कुराहरुमा चासो राख्ने हुन्छन् । सबैभन्दा बढी सामाजिक संजलको प्रयोग गर्ने, सुचना प्रविधिको क्षेत्रमा आएका नयाँ नयाँ सामग्रीको प्रयोग गर्ने हुन्छन् । धेरै पटक यस्ता कुराको प्रयोगमाथि मण्डलीले बन्देज लगाइदिदा युवाहरुको भावानामा ठेस पुग्न जाने हुन्छ । तसर्थ सेवकाईमा रमाउन यसको स्वरुपमा परिवर्तन ल्याउन नखोज्नु पनि चुनौतिको विषयको रुपमा उभिएको छ । मण्डलीमा सधै एकै प्रकारले सेवा गर्नु बाहिरी सेवा तर्फ मण्डलीले ध्यान नदिनु, केवल बाइबलीय प्रचारबाट मात्र शिक्षा दिने प्रणाली, नयाँ प्रविधिका सिकाईहरुलाई स्थान दिन नसकी मण्डलीमा पुरानै तरिकाले सेवा गर्नु आजको युवा सेवकाईका चुनौति हुन् ।
५) उत्साहको कमि हुनु
कुनै पनि काम गर्दै गर्दा त्यसको प्रतिक्रिया जब आउँछ तब आफ्नो काम राम्रो भए नभएको थाहा हुन्छ, त्यस अनुसार अब कसरी अघि बढ्ने भन्ने हुन्छ । धेरै पटक सेवकाईमा लाग्ने व्यक्तिमा पनि यहि हुन्छ । ऊ आफ्नो क्षमताले भ्यएसम्म आफ्नो तर्फबाट सेवकाईलाई प्रभावकारी बनाउन लागिपरेको हुन्छ तर त्यसप्रति कसैले चासो नदेखाइदिँदा, प्रतिक्रिया नदिँदा सेवकाई गर्ने व्यक्तिमा निराशा छाइरहेको हुन्छ । त्यसैले सेवकाईमा लागेकाहरुलाई उत्साह दिन नसक्नु अर्को महत्वपुर्ण चुनौति छ ।
६) सेवकाई प्रतिको बुझाईमा गलत धारणा
धेरैको मनमा सेवाकाई भनेको आफ्नो सबै काम छोडेर पुर्ण रुपमा सेवकाईको कामको लाग्नु भन्ने बुझाई छ । त्यो गर्न सक्यो भने त झनै राम्रो । तर हामी जहाँ छौ, हामीसँग जे क्षमता छ त्यसबाट पनि हामी सेवकाई गर्न सक्छौ । मण्डलीका अगुवा पाष्टरबाट कति पटक यस्ता कुरा आउँछन् की आफ्नो भएको काम छोडेर अब सेवकाईमा लाग्नु पर्छ । यसैले सेवाकाईको धारणा प्रति युवाहरुको बुझाई गलत हुने भएकोले यो पनि चुनौतिको बिषय बनेको छ ।

७) ख्रीष्टियन जीवन र संसारिक जीवनलाई सन्तुलन राख्न नसक्नु
सेवकाईमा लाग्दै गर्दा कति समयमा संसारिक जीवन ओझेलमा पर्छ । संसारमा छदाँ हामीले निभाउनु पर्ने कर्तव्य, जिम्मेवारीलाई समेत विर्सिएको हुन्छ । हामीले येशु ख्रिष्टलाई पछ्यायौ अब संसारको काममा लाग्नु हुदैन भन्ने गलत मानसिकताको समेत विकास भइरहेको हुन्छ । तसर्थ मण्डलीमा गरिने सेवकाई हाम्रो सांसारिक जिवनमा पनि गर्नुपर्ने हुन्छ । जब हामी संसारका मानिसको सेवामा लाग्छौ झन् हाम्रो विश्वास र काम उनीहरुको माझमा प्रकट हुन्छ । जसले गर्दा उनीहरुले येशु ख्रिष्टलाई विश्वास गर्ने मौका मिल्छ । त्यसैले सेवकाईको दौरानमा ख्रिष्टियन जीवनसँगै सांसारिक जिवनलाई पनि सन्तुलनमा लानु चुनैतिको विषयको रुपमा रहेको छ ।

८) पुस्तान्तरण
मण्डलीमा होस् या मण्डली बाहिर युवा सेवकाईको निम्ती पुस्तान्तरण एउटा चुनौतीको विषय हो । अघिल्लो पुस्ताले आफुले जे सिक्यो, जस्तो गर्यो यो पुस्ताले पनि त्यस्तै गर्नुपर्छ भन्ने विचारले मण्डलीका युवाहरुलाई अगाडि बढ्नबाट रोकीरहेको हुन्छ । अहिलेको समयमा युवाहरुलाई पुरानै विचारमा, रहनसहनमा, लवाईखवाईमा ढाल्न खोज्नु, नयाँ विचरको सुनुवाई नगर्नु, युवालाई नबुझिदिनु यी सबै समस्या दुई पुस्ता विचको फरकपनाले हुन्छ । मण्डलीमा दुई पुस्ता विचको फरक विचार, एक अर्काको विचार नबुझ्नु चुनौतीको विषय हो ।

९) युवा प्रति मण्डलीको धारणा
युवालाई काँचो माटो र भविष्यको कर्णधारको रुपमा हेर्नु यो आफैमा गलत विचार हो । जबकी युवा त मण्डलीको बलियो खाँबो र मण्डलीको आज हुन् । मण्डलीमा युवाहरुलाई विश्वास नगर्नु, जिम्मेवारी दिन हिचकिचाउनु यी कुराहरुले गर्दा पनि युवाहरुलाई सेवकाइमा, प्रभुमा, जिम्मेवारीका क्षेत्रहरुमा अगाडि बढ्नबाट रोकीरहेको हुन्छ । पाको व्यक्तिहरु नै सेवकाईमा लागिरहने, युवाहरुलाई अवसर नदिने युवा सेवकाईको चुनौतिको विषय हो ।

१०) आर्थिक सहायता नहुनु
सेवकाईमा लाग्ने व्यक्तिलाई प्रार्थना, उत्साहको साथसाथै आर्थिक सहायताको पनि खाँचो पर्छ । जुन कुरा कतिपय मण्डलीले बुझिरहेका हुदैनन् । जसले गर्दा सेवकाईमा आउन चाहने व्यक्तिलाई आउने इच्छा हुँदा हुदैँ पनि ऊ आउन सकिरहेको हुदैन । त्यसैले आर्थिक कुराको सहायता नहुनु पनि सेवकाईको चुनौतीको विषय छ ।

(९)  चुनौतिका उपायहरु
      युवा सेवकाईका चुनौतिको विषयमा त हामीले माथि चर्चा गरिसक्यौ । अब भने ति चुनौतिका विषयलाई कसरी समाधान गर्न सकिन्छ, त्यो विषयमा हामी हेर्नेछौ ।
युवालाई सेवकाईमा लाग्न प्रेरित गर्न मण्डलीले विशेष भुमीका खेल्नुपर्छ । कतिपय मण्डलीमा एकै व्यक्तिले वर्षौ वर्ष एकै व्यक्तिले सेवकाई गरिरहेको हुन्छ , त्यहाँ आफु पछि आफ्नो स्थानमा कसले सेवा पुर्याउने हो, प्रार्थना सहित दर्शन बोध भएको व्यक्तिलाई चेलापनमा हुर्काउनु पर्छ । मोशाले पनि आफु पछि इस्राएलिहरुलाई डोर्याउन यहोशुलाई तयार पारेका थिए ।
युवा अगुवाको छनौट गर्दा पनि कस्तो खालको व्यक्तिलाई अगुवा बनाउने ? भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । व्यक्तिको बोलि, व्यवहार, आचरण, परमेश्वरसँगको उसको सम्वन्ध, मण्डलीका युवाहरुसँगको सम्वन्ध यी सबै कुराको आधारमा अगुवाको छनौट भएमा युवा सेवकाई प्रभावकारी बन्न सक्छ । धेरै जवानहरु आफ्ना अगुवालाई हेरेर पछ्याइरहेको हुन्छ ।युवालाई डोर्याउने अगुवा छनौट गर्दा विशेष गरी दर्शन प्रकाशभएको व्यक्तिलाई छनौट गर्नुपर्छ । युवासँग सम्बन्धित दर्शन भएको व्यक्तिले मात्र असल प्रकारले युवाहरुलाई सिकाउने, अघि बढाउने काम गर्न सक्छ । हितोपदेश २९ः१८ ले पनि दर्शन प्रकाश नभएको व्यक्ति भाँडिन्छ भनेर भन्दछ ।  
मण्डलीका अरु युवाहरुसँग समन्वयन गरी उनीहरुको चाहना के छ ? कसरी युवाहरुलाई युवा संगतीमा सक्रिय बनाउन सकिन्छ ? यी विषयमा उनीहरुसँग छलफल गर्नु पर्दछ । उनीहरुबाट आएका हरेक कुरा मण्डलीले पुरा गर्नै पर्छ भन्ने पनि छैन । मण्डलीले कतिसम्म सक्छ, त्यो गर्नु कत्तिको उचित वा अनुचित छ त्यसको प्रकृति हेरेर ती युवहरुको चासोका विषयलाई पनि प्राथमिकतामा राख्नु पर्दछ । उनीहरुका चासोका विषयलाई राम्रोसँग सम्बोधन गरिनु पर्छ ।  
आज भोलि इ–मेल, ईन्टरनेट नचलाउने युवाहरु सायदै कम होलान् । त्यसको प्रयोगबाट हामी बाइबलिय धेरै ज्ञानहरु लिन सक्छौ । यसले फाईदासँगै विकृतिका कुराहरु पनि फैलाईरहेको पक्कै छ,जसबाट मण्डलीका युवाहरू पनि यसको शिकार हुन पुगेका छन् । तसर्थ यस्ता कुराहरु माथि बन्देज होइन यसको सही सदुपयोग कसरी गर्न सक्छौ त्यस बारे सिकाउनु पर्छ । ती कुराहरु बाट पनि सेवकाईको काम गर्न सक्छौँ । धेरै पटक भेटघाट गर्न नसकिरहेको अवस्थामा ती सामाजिक संजालको माध्यमबाट हामी उनीहरुसँग कुराकानी गर्न सक्छौ, उसका कुराहरु सुनिदिएर उसलाई सहायता गर्न सक्छौ । धेरै युवाहरु आफ्ना कुराहरु कसैलाई भन्न नसकेको बेला उसका कुराहरु सामाजिक संजालमा पोखिरहेका हुन्छन्, त्यसबाट हामी कस्तो अवस्थामा छ थाहा गर्न सक्छौँउसलाई त्यो अवस्थामा कसरी उत्साह दिन सकिन्छ, त्यसबारे विचार गर्न सक्छौ । । यसरी पनि हामी सेवाकाई गर्न सक्छौ । त्यसैले जहाँ जुन अवस्थामा जसरी एकले अर्कालाई सेवा दिन सक्छौ त्यसरी पनि सेवाकाइ गर्न सकिन्छ ।
यदि हामी पढाईमा राम्रो छौ भने आफुसँग भएको ज्ञान अरुलाई बाँड्न सक्छौ । हामी सँग प्रशस्त पैसा छ भने खाँचोमा परेकाहरुलाई सहयोग गरेर सेवकाई गर्न सक्छौ । फुर्सदमा छौ भने कसैलाई भेटघाट गर्न जान सक्छौ । आफुसँग भएका क्षमता, खुवीलाई पनि प्रयोग गरी हामी अरुलाई सेवा दिएर सेवकाई गर्न सक्छौ । झन् अहिलेको समयमा त संसार यति फराकीलो बनेको छ की, आफु कुन क्षेत्रमा लाग्ने उसको अगाडी छनौट गर्ने धेरै कुरा छन् । मण्डलीका सबै जवानहरु एउटै क्षेत्रमा नलागी सबै क्षेत्रमा फैलिदै त्यसमा दक्षता हासील गर्नुपर्छ र त्यसबाट पनि हामी सेवकाई गर्नुपर्छ ।  
सेवकाईमा लाग्नको लागि मण्डली भित्र नै मात्र सिमित हुनुपर्छ भन्ने छैन । आफुसँग भएको क्षमताअनुसार विभिन्न क्षेत्रबाट मण्डलीका काम र समाजमा सेवा पुर्याउन सकिन्छ भन्ने धारणा मण्डलीले सिकाउनु र सिक्नपर्छ । हामीले बाइबलमा हेर्ने हो भने भेट हुने पालमा, कोहिले महापवित्र स्थान भित्र सेवा गर्थे, कोहीले बलिदान गर्थे, कोहीले पुजाहारीलाई सघाउने काम गर्थे,कोहिले पालमा आवश्यक कुराहरु ल्याउने गर्थे । त्यस्तै पावलले १ कोरिन्थी १२ः४ मा परमेश्वले फरक व्यक्तिलाई फरक वरदान दिनुहुन्छ भनिएको छ ।
युवा सेवकाईमा युवाहरुले राखेका विचार, प्रस्तावलाई सुनिदिने, उपयुक्त भएमा त्यसलाई प्रयोगमा ल्याउनाले सेवकाई अझ प्रभावकारी हुन सक्छ । मण्डलीमा सेवकाईको स्वरुपलाई सुधार गर्न केही परिमार्जन, थपघट गर्न सकिन्छ । बाइबलमै आधारित रहेर सिकाउने, नयाँ कार्यक्रमहरु गर्ने, खेलाउने, विभिन्न तालिमहरुको आयोजना गर्ने गराउनाले युवाहरुलाई आर्कषित गर्न सकिन्छ ।          
कोही कोही लाई परमेश्वरको पुर्णकालीन सेवकाईको लागि बोलावट पनि दिनुभएको हुन्छ । तर जसलाई जे वरदान दिइएको छ, जे क्षमता आफुसँग छ त्यसबाट अरुलाई सेवा दिने कामबाट पनि सेवाकाईको काम गर्नुपर्छ ।युवा सेवकाईमा लागेका व्यक्ति र अन्य युवाहरुलाई अगुवाहरुले अभिभावकहरुले उत्साह दिने, सरसल्लाह दिने, नयाँ कुराहरु सिकाउन तालिममा पठाउने, प्रार्थना गरिदिने गर्नुपर्छ । जसले गर्दा सेवकाईमा लागेका या नलागेका युवाहरुलाई प्रभुमा अघि बढ्न, सेवा गर्न, असल काम र असल मार्ग छनौट गर्नको लागि उत्साह मिल्छ । हितोपदेश १५ः२२ ले पनि भन्दछ कि धेरै परामर्शदाताहरुको कारण सफल भइन्छ ।
हामीले ख्रिष्टलाई पछ्याउनुको अर्थ संसारबाट अलग रहनु, लुकेर रहनु होइन तर ख्रिष्टमा रहेर संसारको निम्ति नुन र ज्योतिको काम गर्नु हो । (मती ५ः१३,१६) । अझ जवानहरुले त उमेर छदै सेवा र असल काम गर्नुपर्छ । दाउद राजा हुँदा ३० वर्ष मात्र थिए, उनले परमेश्वरको भयमा रहेर देश र जनाताका निम्ति युद्ध गरे, अरु सुधारका काम गरे । सोलोमनले पनि जवान हुदै देशलाई सुरक्षित पारे, धनि बनाए, असल न्याय गरे, परमेश्वरको भवन बनाए । येशु ख्रिष्टले पनि ३० वर्षको युवा अवस्थामा नै अरुको सेवाको काम गर्नुभयो । त्यसैले हामीले पनि युवा अवस्थामा नै परमेश्वरसँगको सम्बन्धलाई बढाउँदै संसारका कामलाई पनि अघि बढाउन सक्छौ ।
मण्डलीमा फरक–फरक पुस्ताहरु भए तापनि एक अर्काको भावनाको सुनुवाई गर्ने र ठुलाले सानोलाई वास्ता गर्ने, सानोले ठुलालाई आदर गरेर अघि बढ्नु पर्छ । युवा पुस्ताले आफ्ना अग्रजहरुको कुरा सुन्नुपर्छ किनकी अनुभवि व्यक्तिको सल्लाह उपयोगि हुन्छ । यहोशु पनि मोशाको अधिनमा रहे भने शमूएल एलिको अधिनमा रहेका थिए । पुस्ता फरक भए पनि अझै राम्रोसँग काम गर्न सकिन्छ । फरक पुस्तामा फरक अनुभव, विचार, योजना हुन्छन् । इस्राएली, अमालेकिहरु बिचको युद्धमा मोशा, यहोशु र हुर तिन पुस्ताको सहकार्यले त्यहाँ विजयी भएका थिए । प्रस्थान १७ः११–१३
युवा सेवकाईमा लागेका व्यक्ति स्वयं युवा हुनु राम्रो हुन्छ, जसले गर्दा युवाहरुलाई बुझ्न, उनीहरुको इच्छा, चाहना, समस्या बुझ्न सजिलो हुन्छ । युवा अगुवाले आफ्नो कार्य योजनामा ध्यान दिन पनि आवश्यक हुन्छ । त्यसको साथ साथै अगुवा, युवा, अभिभावकबिच समन्वय गरि सेवा अघि बढाउनाले अझ प्रभावकारी हुन्छ । सेवा गर्ने अगुवा मात्र युवाको निम्ति जवाफदेही हुदैनन् । अभिभावकले पनि युवाहरुलाई बुझ्ने सल्लाह दिने सहायता गर्ने गर्नु उत्तम हो ।

१०. निष्कर्ष
      युवा आफैमा एक चुनौतीपुर्ण विषय हो भने युवा मण्डली, समाज, देशको निम्ति पनि एक चुनौतीको क्षेत्र हो । हाल विश्वको आधा आधी जनसंख्या ढाकेको युवाले धेरै चुनौतीको समाना गर्नु परीरहेको छ ।
युवा उमेरमा हुने विविध जिज्ञासा, चासो, इच्छा, विचारका कारण युवाहरुले समस्या भोगिरहेका हुन्छन र यसको प्रभाव मण्डली, समाजमा पनि परिरहेको हुन्छ । लागु औषधिको दुर्व्यसनी, चोरी डकैती, यौन, बेरोजगारी आदि समस्यामा युवाहरु हरेक दिन फसिरहेका छन् । यस्तो अवस्थामा रहेका युवाहरुलाई मण्डलीले सेवकाईको क्षेत्रको रुपमा लिनु र विस्तार गर्नु मण्डलीको जिम्मेवारी हो । जवानहरुलाई प्रभुमा ल्याउनु मात्र नभई आत्मिकी क्षेत्रमा डोर्याउनु, गलत मार्गबाट विस्तारै छुडाई असल मार्गमा डोर्याउनु युवा सेवकाईको निम्ती चुनौती छ ।
नेपालमा शिक्षाको अभाव, स्वकेन्द्रित विचार, परम्परावादि सोचाई, सम्भाव्यताको कमी, नयाँ प्रविधि प्रति गलत धारणा र त्यसको दुरुपयोग जस्ता कुराले अझै युवा सेवकाईलाई चुनौती दिएको छ । युवाहरुलाई असल मार्ग दर्शन गर्न, असल काम गर्न र सहि निर्णय लिन, सक्रिय बनाउनको निम्ति मण्डली, घरपरिवार, समाजले नै कदम चाल्नुपर्ने देखिन्छ । युवाहरुलाई प्रभुमा अघि बढाउन र सक्रिय गराउन उनीहरुलाई सुन्ने, सल्लाह दिने, अवसर दिने काम गरिनु पर्छ ।
युवाहरुको निम्ति मण्डली, परिवार पहिलो जिम्मेवारीका पक्ष हुन् । बालक हुँदा देखि नै परिवार, मण्डलीले सहि शिक्षा दिनु पर्छ । उमेर अनुसार व्यवहारिक आत्मिक शिक्षामा जोड दिनुपर्छ । त्यस्तै परिवारले वस्ता गर्ने, साथी झैँ व्यवहार गरेर सल्लाह दिने गर्नाले युवाहरुले आफैलाई परिवार प्रति खुल्ला र दायित्व बोध गराउन सक्छ । मण्डलीले पनि युवाहरुको निम्ति योजना बनाउने, अवसर दिने, युवा केन्द्रित सेवकाई गर्ने युवाहरुको निम्ति सहज वातावरण तयार गर्ने गर्नुपर्छ । त्यस्तै मण्डली चाँही मण्डली भित्र आउने युवामा मात्र सिमित नभई मण्डली बाहिरका युवाहरु माझ काम गर्न सक्रिय हुनु असल हुन्छ ।
जसले गर्दा हाम्रो मण्डलीका युवाहरुलाई सेवकाई प्रति अवसर, अनुभव र उत्साह हुन सक्छ । युवाहरुलाई बाइबलिय शिक्षामा हिँडाउनुका साथै संसारका कुराहरु (खेल, मनोरञ्जन, विज्ञान प्रविधि) बाट पनि सिकाउनु उपलब्धी मुलक हुन सक्छ ।

११. सन्र्दभ स्रोत
     बाइबल
     नमुनामय ख्रिष्टियन युवा – दिलबहादुर तामाङ्
     परिपक्व नेतृत्व– Tom Marshall
     युवा दोधार – Imtijungla Longchar
     प्रभावकारी युवा सेवकाईको निम्ति प्रभावकारी युवा अगुवा – प्रेम नारायण भट्टराई
     वर्तमान युवाहरुका चुनौती र अवसरहरु – दिनेश श्रेष्ठ
     विभिन्न मण्डलीका युवा सेवकाईमा लाग्दै गरेका व्यक्तित्वहरु


n]vs
;'gLn /fhef/t, l;.hL.Pkm.


No comments:

Post a Comment