Tuesday, December 3, 2019

ख्रीष्टमस – अर्थ के हो ?

ख्रीष्टमस – अर्थ के हो ?
ख्रीष्टियान धर्मशास्त्र पवित्र बाइबलमा आधारित विश्लेषण
हामी जब यस संसारलाई हेर्छौँ हामी कतै पनि शान्ति र आनन्दको अनुभूति गर्न सकिरहेका हुँदैनौँ | मानव जीवनमा सागर झैं समस्याहरू छन्  | चाहे मानिस आफ्नो जीवनमा पढेर, लेखेर, काम गरेर जतिसुकै राम्रो जीवन जिउन कोसिस गरे तापनि फलत: हामीले असन्तोषी हृदय नै देख्छौं | यो प्रश्न आज अत्यन्त बुझ्न आवश्यक छ कि किन आज मानव जातिको मनमा शान्ति छैन ? किन हामीमा दु:ख, पीडा र सङ्घर्ष छन्  ? मानव चाहे जति सुकै शिक्षित होस्, चाहे धनाद्य होस्, चाहे परोपकारी नै किन नहोस्, उसको जीवनमा भएका असंख्य प्रश्नहरुले उसलाई कहिल्यै शान्ति मिल्दैन | आजको युगमा झन् सारा विश्व व्यस्त छ र कसैलाई सोच्ने फुर्सद पनि छैन कि आखिर यो जीवनको अर्थ के हो त ? किन हामी यहाँ छौं र कहाँबाट आयौं ? हामी को हौं ? हामी के का लागि जीवन जिउदैछौँ ? हामीले यो जीवन कसरी जिउने ? र जीवन समाप्ति पछी हाम्रो गन्तव्य के हो ? हो, आज यस्तै प्रश्नहरुले मानव हृदयलाई आफ्नो जीवनको विषयमा सोच्न बाध्य गराउँछ | ऊ भित्र-भित्र निराशाले गुम्सिएको हुन्छ | भित्र-भित्र उसमा पीडा लुकेको हुन्छ | उसमा ती समस्या र जीवनका सङ्घर्षहरु सित लड्ने शक्ति हुँदैन र ऊ सदा समाधान को खोजी गर्छ | संसारका कतिपय जीवन दर्शनले मानवको यस समस्यालाई सम्बोधन गरी समाधान तर्फ मानव जातिलाई दोहोर्याउने प्रयत्न त निश्चय गरेको हुन्छ तापनि मानव जातिमा चाहेर पनि जीवनमा असल गर्ने वा एक आदर्श जीवन यापन गर्ने शक्ति नै हुन्न | न चाहँदा न चाहँदै पनि हामी मानव जातिबाट भुल गल्ती हुन जान्छ | उसको जीवनमा भय, क्रोध, लोभ, लालच, घमण्ड, अत्तेरिपन, घृणा आदिले अशान्ती, पीडा र दु:ख ल्याइदिन्छ | ऊ सदा यी कुराहरुबाट मुक्तिको बाटो खोजिरहेको हुन्छ | आज यसैले गर्दा मानव मानव बीच नै अशान्त छ , कलह छ, फाटो छ, र संसार भताभुङ्ग हुदै गइरहेको छ | तसर्थ, हरेक मानव जातिले यी सबै खराब कुराहरुको जरो बुझ्न आवश्यक छ |
आज विश्वभर ख्रीष्टमसको लहर चलिरहेको छ र मानिसहरु यसलाई सजावोटका सामाग्रीहरु र मनोरन्जनका साथ धुमधाम सँग मनाउने तयारीमा छन् | डिसेम्बर महिनाको २५ तारिकका दिन मनाइने यस पर्वले वास्तवमा सारा मानव जातिको लागि अत्यन्त जरुरी संदेश बोकेको छ | ख्रीष्टमस केवल एक धार्मिक पर्व नभएर यो मानव जातिका लागि एउटा आदर्श जीवनको आशा हो | यस सित हाम्रो जीवनका गहन प्रश्नहरु जोडिएको छ | ख्रीष्टमस ‘ख्रीष्ट’ सित सम्बन्धित छ जसको अर्थ हो अभिषिक्त जन वा मसिह र यसले येशू ख्रीष्टको जन्मको दिनलाई जनाउंदछ | येशू ख्रीष्ट यस जगतमा मानव रूपमा मुक्तिदाता भएर आउनुभएको कुरा धर्मशास्त्र बाइबलले बताउँछ | बाइबलले बताउँछ कि मानव जातिको मूल समस्या उसको पाप हो र उसमा हुने पापको स्वभावका कारण नै उसको जीवनमा समस्याहरु आइपर्छन | बाइबल अनुसार प्रथम मानव जातिले परमेश्वरको आज्ञा उलंघन गरेका कारण उनीहरु पापमा फसे र फल स्वरूप उनीहरु परमेश्वरबाट अलग्गिन पुगे | परमेश्वर र मानव जाति बीचको दुरी वा वियोग नै मानव जीवनमा आइलाग्ने विविध समस्याको जरो हो | परमेश्वरले मानव जातिलाई सिध्द्तामा आफू सित अनन्त संगतीको लागि सृष्टि गर्नु भएको कुरा बाइबलले बताउँछ | तर पापका कारण परमेश्वर सितको सम्बन्ध र संगती टुटे पश्चात मानव जातिको जीवन समस्या ग्रस्त रहन गयो | परमेश्वर सित पुन: मिलाप हुने प्रयत्नहरु मानव जातिले धेरै गरे जसको फल स्वरूप विविध जीवन दर्शनहरु, धर्महरु, विधि विधानहरु बन्न पुगे तर आफ्नै आत्म-प्रयास मार्फत विभिन्न कर्म द्वारा पनि मानव जाति परमेश्वर कहाँ फेरी फर्कन सकेनन् | यसरि दिनानुदिन मानव जाति उहाँबाट टाढिदै गए र धेरैले उहाँलाई बिर्सेर अन्य मार्गहरु जीवनमा अपनाएर अघि बढ्दै गए त कोहिले उहाँको खोजि कायम नै राख्दै विविध इश्वर्शास्त्रहरु प्रतिपादन गरे |

बाइबलले बताए अनुसार मानव जातिलाई उसका पापबाट क्षमाको आवश्यक थियो जसका लागि बलिदानहरु गर्ने चलन प्राचीन युग देखि नै थियो | आफ्नो पाप क्षमाको लागि एक निष्कलंक थुमा/पाठो (वा अन्य जीव जन्तु) को बलिदान गर्न पर्थ्यो जसको अर्थ यहि थियो कि मानवको आफ्नो पाप, भुल, गल्तिले गर्दा एक निर्दोषले आफ्नो ज्यान दिन पर्थ्यो | यसरी मानव जातिले आफुले गरेको भूल र पापको महसुस गरी, त्यसको पश्चात्ताप गरेर क्षमा माग्थ्यो र आफ्ना पापबाट फर्केर जीवन परिवर्तन गर्थ्यो | तर ती सबै बलिदानका कुराहरु भविष्यमा निर्धारण गरिसकेको मुख्य बलिदानको केवल एक छाया मात्र थियो र युगौं युग देखि यो प्रचलन र रीतिरिवाजको रूपमा नै स्थापित हुन पुग्यो | येशूको जन्म यसै कार्यका लागि भएको थियो | उनी अचानक जन्मेका नभएर उनको विषयमा पहिल्यै देखि नै धेरै भविष्यवाणीहरु भइसकेका थिए जस्तै उनको जन्म कहाँ हुने हो, उनको नाउँ के हुने हो, उनको जीवन कस्तो हुने हो, उनि कसरी मानव जातिका लागि बलिदान हुने हो इत्यादि | परमेश्वरले मानव जातिलाई प्रेम गर्नु भएको कारण उहाँले मुक्तिदाताको प्रतिज्ञा गर्नु भयो ताकी कोहि पनि पापका कारण नाश नहोस् तर उसले फेरी परमेश्वर कहाँ फर्कने एक मार्ग पाओस | तसर्थ, येशूमा परमेश्वरले अवतार लिनु भयो जुन मानव जातिका लागि आवश्यक थियो | येशू नामको अर्थ नै मुक्तिदाता हो |

उहाँ परमेश्वरबाट मानव जातिलाई पाप र अधर्मबाट उद्धार गर्न र अनन्त जीवन दिन पठाइएको व्यक्ति ईश्वर पुत्र हुनहुन्छ जसको जन्म कन्याबाट भएको कुरा बाइबलले बताउँछ | ३३ वर्ष सम्मको मात्र जीवन जिउनुभएका येशु ख्रीष्टले आफ्नो जीवन कालमा धेरै आश्चर्यकर्महरु गर्दै, रोगहरु निको पार्दै, शोक, चिन्ता, फिक्री र बोझले दबिएका हरेकलाई निको पार्दै जानुभयो र उद्धार गर्नु भयो | यसका साथै उहाँ आफै एक व्यवहारिक उदाहरण भएर आदर्श जीवन जिउने शिक्षा दिनुभयो | आफू बाचुन्जेल उहाँले सबैको भलाइ गर्दै, असल कामहरु गर्नुहुँदा पनि तत्कालिन समयका यहुदी धर्म गुरुहरुले उहाँ माथि झुटा दोष लगाएर रोमी सेनाहरु मार्फत थुकाइ, पिटाई र अरु शारीरिक पीडा दिएर अन्तमा शिरमा काँडे मुकुट लगाइदिए र हात पाउमा काँटी ठोकी क्रुसमा टाँगेर मारे | तर बाइबलले बताए अनुसार उहाँ तेस्रो दिनमा ईश्वरीय शक्तिद्वारा पुन:जीवित/पुनरूत्थान हुनुभयो | उहाँको क्रुसीकरणको बेला बहेको रगतले नै आज हाम्रो तथा मानव जातिको पाप को क्षमा भएको छ र परमेश्वरसित मिलाप हुन पुगेको छ | किनकि बाइबल अनुसार निष्कलंक थुमाको रगत न बहाई पाप क्षमा हुन सक्दैन | येशूमा गरेको विश्वास द्वारा मोक्ष पाइन्छ र उहाँको असल शिक्षा अनि आज्ञाहरु अनुसार जिएर जीवनका बाधापन र समस्याहरुलाई पार गरेर हामी एक असल तथा आदर्श जीवन जिउन सक्छौं, असल कर्म हामी गर्न सक्छौं जसका लागि उहाँले नै शक्ति प्रदान गर्नुहुन्छ भनेर बाइबलले बताउँछ | आज उही येशु नै मुक्तिदाता हुनुभएको छ जो स्वयम् परमेश्वर हुनहुन्छ र जसले एक निष्कलंक मानव जीवन जिएर आफ्नो बलिदान दिए | उनले पाप, दुष्ट र मृत्यु माथि विजय प्राप्त गर्नु भयो |

यसरी येशू ख्रीष्टको आगमन नै वास्तवमा आफ्नो बलिदान दिनका लागि थियो, र बलिदानद्वारा हामीलाई क्षमा दिन थियो | मानवको कयौं प्रयासद्वारा पनि परमेश्वर कहाँ पुग्न सकेका थिएनन् तर उहाँ आफै नै उद्धारक बनि आउनुभयो र आफै मार्ग हुनुभयो | परमेश्वर र मानव बीचको टुक्रिएको सम्वन्धलाई उहाँले पुन: मिलाप गराउनुभयो | येशू आफै पनि मानव जातिले भोग्ने सबै समस्याहरुबाट भएर जानु भयो तर कहिल्यै डग्नुभएन र आज उहाँले हामीलाई सहायता गर्न सक्नुहुन्छ | एक मानवको रुपमा उनको आफ्नै जीवन पनि एउटा ठुलो परीक्षा जत्तिकै थियो जसमा उनले पूर्ण रुपमा विजय हासिल गरे | जब आज हामी जीवनका सङ्घर्षहरुमा एक्लै छोडिन्छौं तब उहाँले हाम्रो पीडा, दुख, मर्म र वेचैनी जान्न सक्नुहुन्छ र हामीलाई सोहि अनुसार सहायता गर्न सक्नुहुन्छ | उहाँले व्यवहारिक रुपमा नै मानव जीवनलाई जिउनुभयो र सङ्घर्ष गर्नुभयो र सबै परिस्थितिबाट भएर जानु भयो ताकि हाम्रो जीवनका परिस्थितिहरुमा उनले सहायता गर्न सकून | हामीलाई कुन परिस्थितिमा कसरी सहायता गर्ने भनि उनले पूर्ण रुपले जान्नुहुन्छ |

यसका साथै मानव जातिको अर्को समस्या मृत्युलाई उहाँले आफ्नो पुनरूत्थानद्वारा खारेज गरिदिनुभयो | उहाँ आउनुको अर्को कारण मानव जातिहरुलाई मृत्युबाट पार गराएर अनन्ततामा लैजानु हो | मानव जाति परमेश्वरबाट वियोग हुन पुगेका कारण उहाँको महानता, उहाँको चरित्र, उहाँको स्वभाव र उहाँको महिमालाई बुझ्न सकेनन् | त्यसैले येशूमा नै उहाँले आफैलाई एक मानव रुपमा प्रकट गराउनुभयो र एक ईश्वरीय निष्कलंक जीवन जिएर आफ्नो चरित्र, स्वभाव, महिमा, महानता , प्रेम देखाउनुभयो | विशेषगरी उहाँले यो कुरा व्यवाहारिक रुपले नै देखाउनुभयो कि परमेश्वरले मानव जाति लाई प्रेम गर्नुहुन्छ र उहाँले अनुग्रह राख्नुहुन्छ | यसरी मानव जातिलाई परमेश्वर कहाँ फर्काउन स्वयम् उहाँ नै मानव बनेर आउनुभयो र मानव जातिहरु माझ घुलमिल हुनुभई शुभ संदेश दिनुभयो | यहि शुभ संदेश हो पाप क्षमाको, पुनार्मिलापको, जीवन परिवर्तनको जुन येशूमा प्रकट गरियो |

यहि नै हो ख्रीष्टमस को वास्तविक संदेश जसले मानव जीवनका गम्भीर सङ्घर्षलाई सम्बोधन गर्छ र येशूलाई एक समाधानको रुपमा, एक उदाहरणको रुपमा, मुक्तिदाताको रुपमा सबै मानव जाति माझ पुर्याउदछ |  उहाँ सबैको लागि बाटो, सत्य र जीवन हुनुहुन्छ जसद्वारा बाहेक परमेश्वर कहाँ पुग्न सकिदैन |                

यहाँहरु सबैलाई ख्रीष्टमस र नव वर्ष २०२० को हार्दिक शुभकामना व्यक्त गर्दछु ||

No comments:

Post a Comment