Wednesday, April 17, 2019

गुड फ्राइडे र इस्टर

हामी जब गुड फ्राइडेको विषयमा आफ्ना अख्रीष्टियन मित्रहरुसंग चर्चा गर्छौं तब एउटा प्रश्न उनीहरुले सोध्ने गर्छन् कि तिमीहरुको भगवानलाई मारेको दिन होरे अनि किन गुड फ्राइडे भन्छौ ? यो प्रश्न मैले पनि सामना गर्नु परेको थियो र सायद तपाईहरुले पनि गर्नु भएको छ कि ?
हो, आज प्रभुलाई नचिनेका मानिसहरुबाट यस्ता खालका प्रतिक्रिया आउनु कुनै नौलो विषय होइन | न त कसैले चासो नै दिएका छन्, न त क्रूसको त्यो महान प्रेमलाई बुझेका नै छन् | क्रूस आज ख्रीष्टियन धर्मको एक चिह्नको रुपमा स्थापित भएको छ र यस चिह्नलाई देख्ना साथ क्रिष्टियन धर्म मान्नेहरु भनेर हामीहरुलाई सबैले चिन्छन् | अझ आधुनिक युगमा त झन् शिक्षा आर्जन गर्ने भएकाले केहि हदसम्म ख्रीष्टियान मत बारे धेरैले सुनेका हुन्छन्| येशूलाई क्रूसमा टाँगेर मारेको पनि धेरैलाई अवगत नै छ | इतिहास आफै नै यसको साक्षी छदैछ| तर धेरैले प्रश्न गर्छन् कि यसरी कष्ट दिएर भगवानलाई मारेको दिन कसरी र किन गुड फ्राइडे भयो ? मुक्तिदाताको त्यो महान सत्य कथा अब यहा बाट नै शुरु हुन्छ ...

क्रूसलाई धार्मिक चिह्नको रुपमा आज विश्वमा पहिचानगरे तापनि यो धर्म सित सम्वन्धित चिह्न वास्तवमा होइन | यसको अर्थ निकै मार्मिक छ जसमा हाम्रा प्रभुले आफैलाई बलिदान गर्नु भयो (गलाती ३: १३)| बरु यो भन्न सक्छौं कि प्रभुले यस्तो क्रूसमा सम्म पनि आफ्नो महिमाको केहि वास्ता नगरी हामी सबैको खातिर त्यसलाई झेल्नु भयो (हिब्रू १२:२)| आफै परमेश्वर भएर पनि मानव जातीको खातिर आफैलाई त्यसमा बलिदान गर्नु भयो | के हो त वास्तवमा क्रूस को अर्थ ?
पास्टर गणेश तामांगद्वारा लिखित एक उत्कृष्ट पुस्तक‘जाचैं-जाचँले जाचेंको पुनारुत्थानबाट यो अंश साभार गर्न चाहन्छु :
येशू मारिनुभएको घटना उति मिठास्लाग्दो खबर होइन | यस्तो खबरमा विश्वास गरेर मानिसले पापबाट उद्धार पाउंछ भन्ने रहस्य बुझ्न र बुझाउन गाह्रो छ | चलेको चलन अनुसार, क्रूसमा मारिएको व्यक्ति बाटआशा गर्न सकिने कुरो के नै पो होला र ? क्रूस नकारात्मक थोक हो | बाइबलले भन्दछ, “काठ (क्रूस) मा झुन्डिने हरेक श्रापित हुन्छ” (गलाती ३: १३), “क्रूसको संदेश नष्ट भइरहेका हरुका निम्ति मूर्खता हो...” (१ कोरिन्थी १:१८) | क्रूसको मृत्यु डरलाग्दो घटना हो | रोमी दार्शनिक मार्कस टुलियस सिसेरो ले अति नै भयानक दण्डको रूपमा लिएका थिए| उनी भन्छन्, “क्रूस शब्द आफै पनि एउटा रोमी नागरिक् देखि पर हटाउनु मात्र होइन उसको विचार, आखाँ र कानमा पनि पर्न दिनु हुँदैन ...|” येशूको नाम पनि यहि घृणीत ‘क्रूस’संग जोडिएको कारण उहाको संदेश र यसलाई सुनाउने उहाँका चेला हरु प्रति समाजको दृष्टिकोण कस्तो थियो भन्ने कुरा लाई अलिकति मात्र अनुमान गर्ने हो भने पनि पुनरुत्थानलाई समेत यसले ओझेल मा पार्न सक्थ्यो | रोम सरकारलाई यहुदीहरुले येशू लाई क्रूसमा टाग्न को लागि सुर्याउनुको कारण यहि हो कि उहाँको अभियान कहिल्यै पनि सफल नहोस् वा येशूको नाम कसैले पनि लिन नपाओस् |
अत: क्रूस आफैमा पनि एक शरमलाग्दो थोक हो जसमा आफ्नो प्राण दिने साहस प्रभुले गर्नु भयो | आफैस्वयम् परमेश्वर भए तापनि उहाले आफ्नो महिमालाई छोडेर एक मानिसको रुपमा क्रूसको त्यो अपमानलाई सहनुभयो (फिल्लिप्पी २:५-११)|
उहाँको क्रूसको त्यो बलिदान र पुनरूत्थान नै हाम्रो विश्वासको बलियो जग हो | मृत्यु नै उहाँद्वारा गरिएको एक महान काम थियो |अत: परमेश्वर सित पुनर्मिलाप गराउने कार्य त्यति सहज छदैं थिएन | पापको दासत्वबाट हामीलाई छुटाउन उहाँले क्रूसको कष्ट उठाउनुभयो|
पुनरूत्थान हाम्रो विश्वासको जग हो जसले संसारका स्थापित धर्महरु को माझ मा हाम्रो विश्वासलाई विशेष र अद्दितीय तुल्याउछ| कुनै पनि धर्मका संस्थापक वा पुज्य व्यक्तित्वहरु मरेर फेरी जीवीत भएको तथ्य कुनै पनि धार्मिक शास्त्रहरुमा हामी पाउंदैनौं | हामीहरुको गौरव र महिमा नै पुनरूत्थान हो | इतिहासकारहरुले पनि स्वीकार गरेका छन् कि उहाँको मृत्यु पश्चात त केहि भएको नै थियो जसले गर्दा उहाँका चेलाहरुमा नयाँ जोशका साथ येशू को बारे प्रचार गर्ने हिम्मत जागियो|१ कोरिन्थी १५: १६-१९ अनुसार हाम्रो आशा पुनरूत्थान हुनु भएको ख्रीष्टमा नै छ | यो मानव इतिहासमा गरिएका सबै आश्चर्यकर्महरु भन्दा महान हो |यसले येशूको ईश्वरत्वलाई प्रमाणित गर्दछ(रोमी १:४) र हाम्रो विश्वासलाई बलियो कायम राख्दछ |
हामीले गुड फ्राइडे र इस्टरको महत्व र आवश्यकता जान्दछौं र यो हाम्रो जिम्मेवारी होकी कसरी हामीले प्रभुको विषयमा अरुलाई सुनाउने | प्रभु केवल यहुदीहरुको लागि मात्र यस संसारमा आउनुभएको थिएन तर हामी सबैको लागि थियो | आज संसारका मानिस हरुलाई येशूको खाँचो छ | अनि हाम्रो कार्य नै येशूको विषयमा अरुलाई समय ढिलो नहुदै सुनाउनु हो| विश्वास गर्ने नगर्ने सबैको आफ्नो स्व इच्छा नै हो तर उहाँको विषयमा सबैलेसुन्ने मौका पाउनुपर्छ|
सबैलाई गुड फ्राइडे र इस्टरको शुभकामना छ !
यस विषयमा अझै बढि जान्न का लागि यी link मा जानुहोला: Click here !!

By
kevin shrestha

No comments:

Post a Comment